विचार अभिव्यक्तिको स्वतन्त्रता:
विचार अभिव्यक्तिको स्वतन्त्रता:
सामाजिक सञ्जालमा प्रायजसो नयाँ विचार वा सन्दर्भ भाइरल बन्ने गर्छन् । त्यस्ता विचारमाथि जति धेरैले टिकाटिप्पणी गर्छन्, ती त्यति नै धेरै ट्रोल बनाइन्छन् र भाइरल बन्छन्। भाइरल विचारको सन्दर्भसँग जोडिएर कटाक्षपूर्ण टिप्पणी गर्दा आफैंलाई र अरूलाई सुधारको बाटो देखाउने काम पनि हुनसक्छ - हुनुपर्छ पनि । यस्ता विचारमाथि जोसुकैले टिकाटिप्पणी गर्नु स्वाभाविक हो, र त्यस्तो "स्टाटस" वा "कमेन्ट" लाई विचार अभिव्यक्तिको स्वतन्त्रताको दायराभित्र राख्नुपर्छ । तर त्यस्तो स्टाटस वा कमेन्टले कसैको निजी जीवन, सार्वजनिक व्यक्तित्व वा व्यवसायिक पक्षमाथि आक्रमण गर्नुहुँदैन ।
उदाहरण:
हिजोको घटनाप्रति म निकै चिन्तित छु। अहिले भाइरल भैरहेको एउटा प्रसङ्गमा मैले स्टाटस बनाएँ, जसमा कुनै व्यक्तिमाथि अभद्रता, असहिष्णुता वा गालीगलौज छैन, बरू नेपाली राजनीतिमा छताछुल्ल बनेको नेतृत्वको गलत चरित्रमाथि गतिलो कटाक्ष गरिएको छ। यसलाई विचार अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गरिएको भनी मान्न सकिन्छ, मान्नुपर्छ ।
तर त्यही स्टाटसको तल अत्यन्तै अपमानजनक, अशिष्ट आशयको अभिव्यक्ति कमेन्टको रूपमा लेखियो, जसले नितान्त व्यक्तिगत तहमा अभद्रता देखाउँदै मानहानी गर्ने "नियत" जाहेर गर्यो। मेरो सम्पूर्ण राजनीतिक व्यक्तित्व र छबिमाथि त्यो कमेन्टले हिंसात्मक आक्रमण गर्यो।
मैले त्यो कमेन्ट हटाउन वा सच्याउन अनुरोध पनि गरेँ, तर उहाँले त्यसलाई विचार अभिव्यक्तिको स्वतन्त्रता ठान्नुभयो क्यारे ! स्मरण रहोस्, "स्वतन्त्रता" भनेको आफूलाई उचित लागेको जेसुकै गर्न पाउने अराजक अवस्था होइन । आफूलाई "पत्रकार" को रूपमा चिनाउन प्रयासरत एउटा उदयीमान व्यक्तिले निर्धारण गरेको त्यो मान्यताले स्वतन्त्रताको मर्ममाथि नै ज्यादती गर्यो। यसरी आफू पीडित बन्नुपर्दा मैले उहाँको त्यो अकर्मण्य कमेन्टप्रति "दुःखद्" भन्ने प्रतिक्रिया जनाउनुभन्दा बढी केही गर्ने चाहना पनि राखिँन।
सिकाइ:
ममाथि गम्भीर लाञ्छनायुक्त कमेन्ट गर्ने व्यक्तिसित मेरो सम्बन्ध ठीकै थियो । उहाँलाई मैले सधैं सद्भावपूर्वक व्यवहार गर्दैआएको थिएँ । तर आखिर मान्छे न हो, कतै मैले उहाँको चित्त दुखाएको वा उहाँको दृष्टिमा मबाट गम्भीर चारित्रिक दुस्कर्म भएको भए क्षमादान पाउन र सच्चिन म तयारै थिएँ - रहनेछु। अर्को कुरा मेरो नजिकमा रहनुहुने मेरा मित्रहरू, सहकर्मीहरू वा मेरा हितैषीहरूले पनि त्यो कमेन्ट देख्नुभएछ! पक्का पनि नेपाली भाषामा लेखिएको उक्त विचार पढ्ने हजारौं फेसबुक साथीहरूले पढ्न पाउनुभयो । कतिले अझै थपेर अभद्रता पनि प्रदर्शन गर्ने मौकाको रूपमा लिन भ्याउनुभएछ! तर मेरो प्रश्न, त्यो घटनाले विचार अभिव्यक्तिको स्वतन्त्रताको दुरुपयोग भयो भन्ने कसैलाई किन लागेन? त्यसकारण मैले प्रश्न उठाएँ, पीडित बनेको व्यक्तिलाई नजिकबाट चिन्ने मानिसहरूले उसको बचाउमा किन चूँ बोलेनन्? कसैको व्यक्तित्वमाथि गम्भीर आक्रमण भैरहँदा रमाइलो मानेर रमिता हेर्दै बस्नेहरूलाई पीडितले आफ्नै साथी कसरी मान्नू? सामाजिक सञ्जालको दुरुपयोग गर्दै अहिलेसम्म कति धेरै असल व्यक्तिको मानमर्दन भयो होला, हामीले किन खबरदारी गरेनौँ? अथवा कसैको इज्जत हुर्मत भैरहँदा हामी आफैंले कति धेरै स्वादिलो सास निल्यौँ? अनि के, यस्ता विषयमा बेपर्वाह गरिबसेर भोलिको दिन कस्तो होला भनेर हामीले किन नसोचेको ?
स्पष्टीकरण:
मैले यो विषयको उठान गर्नुको खास औचित्य मलाई आरोपित गर्ने "भाइ" प्रति मैले बदलाको भावना राखेको छैन। "सरी" मात्रै भन्दिएको भए, उसैबेला उहाँले क्षमा पाइसक्नुहुन्थ्यो (मेरो तर्फबाट कत्तपनि समस्या छैन)! त्यति हुँदाहुँदै पनि यो विषय उठाउनुको कारणचाहिँ आइन्दा यस्तो नहोस्, कसैले पनि यथेष्ट प्रमाण बिना सार्वजनिक मानहानी र बेइज्जती नगरोस् भन्ने हो । त्यसमाथि "अर्कालाई" त हो नि भनेर रमिते बन्नेहरूको संख्यामा कमी आओस् समाजमा आपसी मानसम्मान, सहिष्णुता, न्याय र शान्ति कायम रहोस् भन्ने हो । #विचार_अभिव्यक्तिको_स्वतन्त्रता
Comments