ऊ आस्तिक हो कि नास्तिक?
इतिहासमा पुष्टि भएको तथ्य हो, जब सिङ्गो मानव जातिमाथि महासङ्कट आइलाग्छ र मान्छे जीवन-मरणको सीमानामा हुत्याइन्छ, त्यसबेला मान्छे आस्तिक वा नास्तिक कित्तामा खडा हुन्छ। यस्तै सङ्कट मडारिएको समयमा परमेश्वरमाथि विश्वास गर्न असमर्थ "नास्तिक"हरू आफू बाँच्ने प्राथमिकता रोज्छन्, लूटपाट र जघन्य अपराधीलाई जायज मानेर "आफू बाँच्न" जेसुकै गर्न पनि तयार हुन्छन्। तर "आस्तिक"हरू आफू मेटिएर भए पनि अरूलाई बचाउने प्रयत्नमा लाग्छन्। यो तथ्यभित्र लुकेको सत्यचाहिँ अमुक "धर्म" मान्ने मान्छे "अास्तिक" नहुन सक्छ । त्यसैगरी "कुनै पनि धर्म मान्दिनँ" भन्ने मान्छे नास्तिक नहुन सक्छ। कोही अास्तिक कि नास्तिक कुन कित्तामा उभिएको छ भनेर छुट्टयाउने मापदण्ड नै उसले आफ्नो विवेक निर्माण गर्ने अन्तस्करणमा अदृश्य, अलौकिक, सृष्टिकर्ता ईश्वर, परमेश्वर, गड वा अल्लाहको अविच्छन्न अस्तित्व स्वीकार गर्छ कि गर्दैन भन्ने हो । हुन त तपाईंको अगाडि हेदै अमुक धर्मको पहिचानमा प्रश्तुत भएका मानिसहरू छन्, तर ती साँचो आस्तिक नहोलान्, र धर्मकर्मबाट अलग्गै बसेका र अरूका सामुन्ने बोल्दा "ईश्वर छैन" भन्नेहरू साँच्चिकै आस्तिक हुन सक्छन् । धार्मिक पहिरन लगाउनु, धर्मकर्म गर्नु वा धार्मिक स्थलहरूमा नियमित धाउनु नै आस्तिक हुनु होइन र त्यसको उल्टो यी कार्य वा पहिचानमा नउभिनु नास्तिक हुनु पनि होइन ।
हामीकहाँ नास्तिक पहिचानमा आफैं उभिएका मानिसहरू नगन्य छन्। म त भन्छु, हामीकहाँ नास्तिक छँदैछैनन्। धेरैले कम्युनिष्ट हुनुलाई नास्तिक बनेको ठाने। यहाँका असंख्य मानिसहरूलाई उनीहरूमा रहिआएको अशिक्षा, गरीबी र उरन्ठेउलो उमेरका कारण नास्तिक पहिचानसहित कम्युनिष्ट बनाइयो । तर तिनै अशिक्षित, विपन्न र किशोर किशोरीहरूलाई मठमन्दिरमा फोहर गर्न उक्साउने, गुम्बा र चर्च भत्काउन हौस्याउने महान् कम्युनिष्ट नेताहरू अहिले शक्तिशाली सत्ताको सुरक्षा घेरामा सुरक्षित बनेलगत्तै नवधर्मी अवतार धारणगरी धर्मी व्यक्तित्व बनिसकेका छन्। (क्रमसः लेखेर टुङ्ग्याएँ)
Comments