डढेलो रोकौन !!

यो वर्ष पनि १०० दिन नाघ्दैछ, विगत वर्षहरूमाझैँ देशका अधिकांश वनमा डढेलो सल्किएको। जङ्गलमा सल्केको आगो निभाउने होइन, बरू डढेलो सल्काएर रमाइलो गर्ने मूर्ख मानसिकता अझै कति मानिसहरूले प्रदर्शन गरिरहेका छन्। 

मलाई सम्झना छ, झापाको चारकोसे वनको दक्षिणी सीमावर्ती गाउँमा मैले किशोरावस्था पार गर्दैगर्दा सो जङ्गलमा आगो निभाउन म अग्रसर स्वयंसेवक हुन्थेँ, काठ तस्करहरूका सामुन्ने मेरो उपस्थिति ज्यादै असह्य हुने गर्थ्यो। म त्यहीँ रहिरहेको भए त्यो लडाइँ आज पनि उत्तिकै चलिरहेको हुने रहेछ। 

वन्यजन्तु, काठ र जडिबुटी सखाप पारेर हामीले भविष्य दन्दनी जलेको हेर्नुपर्दैछ। दुःखद् कुरा त के भने नेपाली सेनाले पहरा दिएको आरक्षण क्षेत्र र राष्ट्रिय वनहरू पनि डढेलोको चपेटामा परेका छन्। म प्रष्ट छु, यो मानवसिर्जित समस्या हो, कसैले आगो नसल्काए वनमा डढेलो लाग्दैन। वनमा गोठाला बनेर वस्तुभाउको चरन गराउनेहर, घाँसदाउरा गर्नेहरू गाउँलेहरू वा जङ्गलको बाटो भएर पारिसम्म जाने बटुवा-यात्रीहरूलाई सुसूचित गराउने, उनीहरूलगायत उपभोक्ता समुहलाई जिम्मेवार ठहर्‍याउने हो भने डढेलो लाग्दैन । तर सुनिन्छ, सेनाका जवानहरूलाई यो समयमा मोटा वन्यजन्तुको सिकार गर्न लगाएर माथिल्लो ओहदाकाहरूसम्म पुर्‍याइदिन लगाइन्छ रे! सामुदायिक वनका उपभोक्ता समुहहरू र वनको सुरक्षामा खटिएका सेना र वनपालेहरूले नै वनको रक्षा र हरियाली भविष्यको पक्षमा काम गर्दैनन् भने त्यो जघन्य अपराध हो ! "रक्षक नै भक्षक हुन्छन्" भन्ने उखान यहाँ पुष्टि भैरहेको छ। सुरक्षाको जिम्मेवारीमा रहेर पनि आवश्यक जिम्मेवारी बहन नगर्नेलाई दण्डित गर्नैपर्छ। 

गाउँ नजिकैका वनहरूबाट चैतबैशाखमा झरेका पुराना पातहरू सङ्कलन गरेर जडिबुटी उत्पादन, उपभोग्य प्रसाधन र कम्पोस्ट मल बनाउन सकिन्थ्यो। डढेलोले नयाँ बिरुवा र पालुवा त मास्छ नै, त्यसभन्दा बढी समस्त प्राणीचक्रमाथि यसले गम्भीर र नकारात्मक असर पारिरहेको छ। यत्ति साधारण तथ्य नबुझ्ने मानिसहरू हामीसँग अब नहुनुपर्ने हो। डढेलोले वनजङ्गल, वन्यजन्तु, वनपैदावर र वातावरणमाथि कति नकारात्मक परिणाम ल्याउँछ भन्ने सामान्य कुरा अबको नेपाली चेतनाले बुझिसक्नुपर्ने हो ! तैपनि वर्षेनी हामीले डढेलो देखिरहनु परेको ? 

अहिले देशमा जहाँजहाँ जेजति सानाठूला वनहरू किन नहोउन्, ती सबैलाई कम्तिमा पनि पाँच वर्षसम्म आगलागी हुनबाट जोगाउने हो भने देशले विश्व पर्यावरणमाथि नै ठूलो योगदान दिनसक्छ। माथि नै भनियो, आगलागीबाट तत्काल नष्ट हुने बोटबाट झरेका पुराना पातपतिङ्गरबाट नै पनि गतिला ग्रामिण उद्योग चलाउन सकिन्छ। सुकेका मसिना हाँगा, बोक्रा र झारझाडीबाट दाउरा र मलसमेत उपलब्ध हुनसक्छ । वनजङ्गलकै यथोचित उपयोग गरेर देशमा समृद्धि भित्र्याउन सकिन्छ। साँच्चै, देशलाई समृद्ध मुलुक बनाउन वनजङ्गलले हामीलाई बलियो सम्भावना दिएको छ। तर त्यही सम्भावना आँखै अगाडि खरानी बनेर उडेको हेर्ने हामीलाई कस्तो नियतिले पछ्याउने हो ? हाम्रो भौतिक पहुँचमा डढेलो लाग्दै गरेको देखेर पनि निभाउन प्रयास नगर्ने र निरीह बनी आगो ताप्ने हाम्रो मानसिकतालाई धिक्कार होस्! त्यसमाथि वनजङ्गलको सुरक्षाका लागि जस्तोसुकै प्रयत्न गरेर देखाउनुपर्नेहरू नै किन उदासीन छन्?

आफैं र सिङ्गो प्राणी जगतलाई गम्भीर स्वास्थ्य समस्यातिर घिसार्ने प्रदुषित वातावरण निम्त्याउने मानिसहरूलाई दण्डका योग्य ठहर्‍याउन किन नसकिएको ? 

राज्यमा बस्नेहरूले अबसम्ममा आगो निभाउने आधुनिक प्रविधिको विकास र प्रयोग गरिसक्नुपर्ने हो तर तिनलाई जङ्गल भस्म भएर के बिग्रिन्छ र भन्ने लागेको होला भन्नुपर्दैन, बरू सत्ता फुत्काउन, बचाउन र पचाउनै धौधौ परिरहेको छ।   

अब त लाज पनि लज्जित हुने दिन आइसक्यो! देशमा वन मन्त्रालय छ, वन विभाग छ, आरक्षण क्षेत्रहरू छन् र त्यहाँ सेनाले बन्दुक बोकेर सुरक्षा दिइरहेको छ, राष्ट्रिय वनहरूमा वनपाले छन्, सामुदायिक वनमा उपभोक्ता वा स्थानीय वन समितिहरू छन्, तर डढेलोले रातदिन साना कलिला मुनाहरू, चिरबिर चराचुरुङ्गीहरू, मौरी, कमिला र अन्य किटपतङ्गहरू सबै भस्म भैरहँदा ती मस्त निदाउन सक्छन् कि के हो ? 

Comments

Archive

Contact Form

Send