कविता: नेपाली युवा

 नेपाली युवा,

देशको मायामा ऊ भावुक हुन्छ,
"राष्ट्रवाद" उसको ढुकढुकी।
लज्जाबोधमा कतै देश झुक्छ कि?
सचेत छ ऊ, खबरदारीमा उभिन्छ!
किमार्थ झुक्दैन,
परचक्रीका टेढो आँखाले देश नहेरोस् !
ऊ निर्धक्क गर्जन गर्जिन्छ।
ऊ विश्वासयोग्य सिपाही देशको,
ऊ अविरल चिन्तित छ,
देशको अस्मिता होस् कि जनताको स्वतन्त्रता,
जोगाउने-स्थापित गर्ने जिम्मा उसको,
त्यसैले ऊ सडकछाप आन्दोलनकारी।
नेपाली युवा,
राष्ट्ररक्षामा दत्तचित्त लागिरहँदा,
अध्ययन आफैं गर्ने फुर्सद खै?
विचार सापटी लिएर आन्दोलित हुनु बाध्यता !
तर विचार सापटी दिने को हो?
नयाँ-पुराना नेताहरूले
उसका दिमागमा बलियो विचार हालिरहेछन्,
"युवा, उठ्, आन्दोलन गर्नुपर्छ!"
सडकमा चर्को कराउनू,
ढुङ्गामूढा, उचालपछार, तोडफोड !
बेस्सरी उफ्रिनू, ज्यानै जाला नछाड्नू!
भोकतिर्खा, अङ्गभङ्ग, गिरफ्तारी,
शहिदै बन्न परे पनि पछि नसर्नू!
तर नियति,
चटकी नेताले हुस्यायो, युवा हुस्सियो
आन्दोलन उसको स्थायी पेसा भयो,
ऊ उफ्रिनुसम्म उफ्रियो,
धूवाँधूलो, हसिनपसिन जहिल्यै ऊ,
उसको परिश्रम नेताले लुट्यो,
उसको आन्दोलन नेता पोस्ने मेसो,
त्यसकारण आन्दोलन अब निरर्थक बन्यो !!

Comments

Archive

Contact Form

Send