ख्रीष्टियन आस्था अवलम्बन गरेर पनि राष्ट्रिय राजनीतिमा मूल्यमान्यतामा आधारित भएर सक्रिय हुँदा तपाईंको आशामा मेरोतर्फबाट कुठाराघात भएको लागेमा क्षमाप्रार्थी छु। म एउटा मूल्यमान्यता स्थापित गर्ने दर्शन बोकेर राजनीतिमा छु र थाहा छ, देशमा सत्यता, धार्मिकता, न्यायमा आधारित लोकतान्त्रिक व्यवस्थाको साँचो अभ्यासका लागि आमूल परिवर्तन ल्याउने लक्ष्यमा उभिएको व्यक्तिले दर्शनहीन छलछाम, विभेदकारी अभ्यास र अनैतिक नेतृत्व शैलीसँग सम्झौता गर्नुहुँदैन। अहिलेको फोहोरी राजनीतिलाई त्यहीरूपमा उपयोग गर्नेगरी "जेसुकै" गर्न तयार भएका मान्छेहरूसँग उभिएर फोहोरी राजनीति गर्न मलाई पटक्कै मन छैन। बर्कत र ज्यानले भ्याएसम्म म नैतिक अडानमा खडा भइरहेको हुनेछु। मैले भनेजस्तै परिवर्तन ल्याउन देशको राजनीतिमा तीन "स" अपरिहार्य छन्: १) सामुहिक नेतृत्व, २) समावेसिता र ३) संविधानवाद।
१) सामुहिक नेतृत्वले तत्काल निर्णयमा पुग्न बिलम्ब हुनसक्छ, त्यसबाहेक सामुहिक नेतृत्वमा उभिएको नेताले एकलौटी निर्णय लाद्ने काम गर्दैन र गल्ती गर्नबाट आफू र पार्टीलाई जोगाउँछ। मलाई कति पटक "नबोलेको" आराप लाग्छ, ठीकै हो, म सकेसम्म सबैका विचार बुझेर निर्णयमा पुग्न समर्पित छु।
२) हामीले बाइबलको मूल्यमान्यतामा नै राजनीति गर्ने हो, जसमा मानवीय नैतिकता, अनुग्रह र धार्मिकतामा कल्याणकारी कर्तव्यमा निरन्तर अगाडि बढ्ने मार्ग निश्चित गरिएको छ। तर देशमा चारैतिरबाट घेराउमा पारिएको धार्मिक समुदायको प्रतिनिधित्व गर्दै एकल धार्मिक दल बनाउने गम्भीर भूल मैले गर्नेछैनँ। स्वआस्थाका भनिएका कति साथीहरूसँग यो यथार्थ आत्मसात् गर्ने बुद्धि देखिएको छैन। त्यस्ता साथीहरूलाई बाइबल बोकेका हुन् भनेकै आधारमा नेतृत्व सुम्पेर अपेक्षित लक्ष्य हासिल हुँदैन भन्ने प्रष्ट देखिरहँदासम्म कस्तो एकता गर्नुपर्ने हो र?
३) संविधानवाद भनेको आफूलाई निर्देशित गर्ने नीतिविधि जे स्वीकारिएको छ, त्यसैमा प्रतिबद्ध रहिरहने अडान हो । नेताले नीति बनाउनेमात्रै होइन, त्यो नीतिमा बाँधिएर दिइएको जिम्मेवारी पूरा गर्ने पनि हो । यहाँ आवश्यकताअनुसार आफैंले बनाएको नीतिभन्दा माथि आफूलाई उचालेर अरूलाई कज्याउने गलत परम्परा छ, म त्यसको विरुद्धमा उभिन्छु। किनभने देशमा यही प्रवृत्ति राजनीतिमा रहुन्जेल हामीले परिवर्तन देख्न पाउने छैनौं ।
मैले यहाँ उठाएको विषयमा बलियो अडान लिनबाट अहिले कुनै बहानामा चुक्नुहुँदैन है। अहिले "विश्वासी" देखेर यी मान्यतामाथि सम्झौता गर्ने हो भने अपेक्षित परिवर्तनको पक्षमा नेतृत्व दिने नैतिक बल हामी गुमाएका हुनेछौं । त्यसकारण म भन्छु, मान्छेको कद (अनुहार र बोली) हेरेर होइन उसको हृदय (चरित्र) हेरेर कसैलाई नेता स्वीकार्नुपर्छ।
Comments