परिवर्तनको दर्शनलाई नबुझिदिँदाको परिणाम हो प्रेम आचार्य

बेस्सरी झक्झकाउँदै मलाई जहिल्यै सम्झिराख्नुपर्ने एउटा नाम दिएर गयौ। यसअघि मैले तिम्रो नाउँ सुनेको पनि थिइनँ, तर तिमीले लेखेका शब्दहरूले मलाई मेरो विगतका पलपलहरू सम्झाएको छ, मेरो देशको यथार्थ फेरि झस्काएको छ, र मैले थालेको राजनीतिक यात्रालाई अझै गम्भीर र संवेदनशील, यथार्थपरक र कल्याणकारी कर्तव्यमा लागिरहन चुनौती थपेको छ। दिवंगत तिमी प्रेम आचार्य, म भन्छु, यसकारण तिमी देशको वास्तविक प्रेमी हौ, सहीद हौ तिमी सालिन विद्रोहको, शान्तिपूर्ण क्रान्तिको!
अब देशमा करोडौं युवाहरूले तिमीलेजस्तै आत्मदाह गर्नु नपरोस् भनेर अहिलेको सत्तारूढ दलहरू, कर्मचारीतन्त्र, उत्पादन-बजार तथा वित्तीय क्षेत्रका मानिसहरू, समग्रमा सच्चा नेपाली नागरिकहरू सबैले एउटा इमानदार शपथ लिनुपर्छ ।
"म सत्कर्मले न्याय स्थापित गर्छु।"
मुलुकको दीगो र सर्वाङ्गीण परिवर्तनको पक्षमा तिमीलाई सहिद घोषणा गर्दै, तिमीले अघिसारेका सबै प्रस्तावहरू पारित गरी लागू गराउने लक्ष्यमा लाग्नेछु।
अन्त्यमा, चीरस्मरणीय बनून् भनी आफ्नी पत्नीलाई सम्बोधन गरिएका तिम्रा शब्दहरू दोहोर्‍याउँछु:
"मेरि नानुका, तिमिले सहयोग पाउने छौ, बिचलित नहुनू। मलाइ माफ गरिदेऊ। मैले प्रगति गर्ने धेरै अस्त्र लाउदा पनि सकिनँ। छोरीहरूको अभिभारा तिम्रो काधमा छ। बुझ्ने भएपछि उनीहरूलाई सम्झाउनू, तिमीहरूको पापु (बुवा)ले यो देशमा सफलता हासिल गर्न सक्नुभएन, जताततै हण्डर र ठक्कर खानुभयो, जताततै लुटिनुभयो। यो देश गरिखानेलाई होइन, लुटिखानेलाई मात्र सहज रहेछ। तिमीहरूले पनि त्यै अवस्था भोग्नुनपरोस् भनेर क्रान्तिमा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्नेगरी आफ्नो ज्यान आहुती दिनुभयो!"

"मेरा परिवार, आफन्त, साथिभाइ, इष्टमित्र, गाउलेजनहरु!! मलाइ माफ गर्नुहोला। घर तथा पैतृक सम्पत्तिमा मेरो हक खोसिएको छ, अहिले समस्यामा छु, ऋणमा छु, दिलाइद्नुहोस भन्दा हजुरहरुले सुन्नुभएन, कानुनी रुपमा म पैतृक सम्पतिको हकवाला रहिन, किनभने म ७ कक्षामा पड्दा खेरी, नाबालक अवस्थामै बुवाको धेरै जग्गा जमिन भएकाले हदबन्दी जोगाउन मलाइ छुट्टै परिवार कायम गरेर अंस भर्पाइ गराइ थोरै जग्गा अंसपास गरिदिनुभएको थियो। हाम्रो देशको कानुन अनुसार दुई पटक पैतृक सम्पतिमा अंस पाइन्दैन/हक लाग्दैन। मैले धेरैलाइ/आफन्तलाइ म समस्यामा छु, कानुनी रुपमा तल परेको छु, समाधान पनि छ, सहयोग गर्दिनुहोस, म बाच्न चाहान्छु भनी याचना गरे सहयोग गर्नुभएन। के मैले सामाजिक उत्तरदायीत्व बहन गरेको थिइन? बिबाह, कार्जे, ब्रतबन्ध, सान्चेप, भजन किर्तन आदिमा सारिरिक, आर्थिक उपस्थिति जनाएको थिइन?
गाउँ बिकासका कार्यक्रममा, आर्थिक लागत साझेधारिमा योगदान गरेको थिइन? टोलबिकासमा, सामाजिक छलफल र न्यायमा, कानुनी अड्चन फुकाउने मा, महिला हिम्सा हुदा न्याय दिलाउने कार्य आदिमा मेरो योगदान थिएन? समाज तपाईं भन्दिनुहोस! के मैले नातिको रूपमा, छोराको रूपमा, श्रीमान र बाबुको रुपमा पारिवारिक र सामाजिक उत्तरदायित्व बहन गरेको थिइन? सबथोक गर्दा पनि म आफैले न्याय पाइन, म नै मरे। कहिले रक्सी खाएर लडेको देख्नुभयो मलाइ? केही कुकृत्य गरे मैले? के यो देशमा उद्योग/ब्यपार गर्नु, केही उधारणिय काम गर्न खोज्नु, आफ्नै गाउँ फर्किएर सामाजिक दायित्व निर्बाह गर्न खोज्नु अपराध हो? अब कहिल्यै यहाहरुलाइ याचना गर्ने छैन, म जाँदै छु, मलाइ माफ गर्नुहोला।"
#चेतना #PaM #JPN

Comments

Archive

Contact Form

Send