राजनीति: हिजोभन्दा आज राम्रो र भोलि झनै राम्रो


 देशमा व्यवस्थामात्रै होइन, देशको अवस्था परिवर्तनको लागि नेपाली जनताको आन्दोलन सकिएको छैन। आमूल परिवर्तनको पक्षमा सचेत नागरिक आन्दोलन जारि राख्नुपर्छ । राज्यव्यवस्था अझै न्यायपूर्ण, लोकहितकारी, लोकतान्त्रिक, परिमार्जित, प्रगतिशील बनाउँदै लग्नुपर्छ।  आजको राज्यव्यवस्था हिजोभन्दा उत्कृष्ट बनाउनकै लागि जनआन्दोलनहरू भएका हुन्। यद्यपि राज्यको बागडोर सम्हाल्न पठाइएका मान्छेहरूले परिवर्तन र प्रगतिको पक्षमा खडा भएको जनभावनाअनुसार इमानदार देखिएनन्। परिवर्तनलाई व्यवस्थापन गर्ने सवालमा "पुरानो चरित्रको सत्ता संस्कृति" माथि भरपर्दाको परिणाम हो, जनआन्दोलनले नियुक्ति दिएका नयाँ शासकहरूले जनअपेक्षा विपरीत बलियो अडान लिन सकेनन् र आमजनताको मनमा निराशा, वितृष्णा र आक्रोश भरिँदै आएको छ।

यही अवस्थाको फाइदा उठाउँदै हिजोका धूर्त ब्वाँसो स्वभावका जनद्रोहीहरूले हामीलाई पहिलेभन्दा अहिले झन् खराब भयो भनेर भावनात्मकरूपमा भड्काउने दुस्साहस गर्दैछन्। आजको लोकतान्त्रिक गणतन्त्रमा दसकौँ पहिलेदेखिको गलत राजनीतिक चरित्रले निरन्तरता पाउनुको खास कारण यही हो। राज्यलाई जिम्मेवार, जनउत्तरदायी र कल्याणकारी तुल्याउने, आम जनतामाझ राष्ट्रिय एकता निर्माण गर्ने, र सुधार, परिवर्तन तथा प्रगतिशील विकास एवं राष्ट्र निर्माणका समग्र गतिविधिमा अपार जनसहभागिता जुटाउने सवालमा अहिलेको गणतान्त्रिक राज्यव्यवस्था  हिजोको निरङ्कुश पञ्चायती राजतन्त्रभन्दा उत्कृष्ट छ। हामीले चाहना गरेको परिवर्तन संविधान र कानुनका ठेलीहरूले मात्रै प्रत्याभूत गर्न सक्दैनन्, तिनको इमानदार पालन र प्रयोग नगर्ने नयाँ सत्ताधारी मान्छेहरूले थामिराखेको चरित्र बाधक बनेको हो ।
बुझ्न सके कुरा सामान्य छ, तर सामान्य कुरालाई अनावश्यक होहल्ला बनाएर जनभावना भड्काउनेहरूले तपाईं हामीलाई बराल्न खोज्दैछन्। देशमा भ्रष्टाचार नसकिएको, भ्रष्ट शासकहरूको चरित्र नबदलिएको कुरा साँचो हो तर अहिलेका भ्रष्टहरूभन्दा पहिलेका महाभ्रष्टहरू कुनै हालतमा असल हुन सक्दैनन् । हिजो पञ्चायती व्यवस्थाको नाममा निरंकुश राजतन्त्रको वरिपरि झुम्मिएका भ्रष्ट प्रवृत्तिका मान्छेहरूले थालेको कुशासनलाई अहिलेकाहरूले थामिदिएको बाहेक अर्को राजनीतिक दुस्परिणाम यो व्यवस्थाले निम्त्याएको होइन, छैन। भनिन्छ, हिजो नारायणहिटी र सिंहदरबारमा बसेका सीमित भ्रष्टहरू अहिले गाउँगाउँमा पसेका छन्। तथापि संख्यात्मक हिसाबले हिजो पञ्चायतको, जनवर्गीय संगठनको वा दरबारी शक्तिको आडमा जति धेरै मान्छेहरू सत्तामा अडेसिएर भ्रष्टाचारलिप्त भएका हुन्थे, जसका विरुद्धमा कसैले केही बोले सोझै राजद्रोहको मुद्दामा जेलनेल थोपरिन्थ्यो, अहिले कानुन कार्यान्वयनको ठाउँमा बस्ने एकैजना मात्रै पनि विधिपरायण र इमानदार छ, र उसलाई तोकिएको जिम्मेवारी पूरा गर्न एकदुई मानिसहरू सम्बन्धित निकायमा छन् भने पनि परिवर्तनको पक्षमा चमत्कार लाग्ने सुधार हुनसक्छ। देशमा व्याप्त भ्रष्टाचार चिर्दै जनतालाई राहत दिन उभिएका कुलमान घिसिङ र यस्तै नामहरूले देखाएको सुनौलो उदाहरण हो यो !
त्यसकारण पुरानो राज्यव्यवस्था नै ठीक थियो भन्नेहरूले कि त त्यो कति कठोर, कपटपूर्ण र कठिन थियो भन्ने कुरा अनुभव गर्दै नगरेका मान्छेहरू हुन्, होइन भने पुरानै सत्तामा ब्रम्हलूट मच्चाउने स्वार्थलम्पट प्रतिक्रियावादीहरू हुन्। किनभने राजनीतिमा जहिलेसुकै सुधारको सम्भावना हुन्छ, सुधारका लागि कहिल्यै पछाडि फर्किनुपर्दैन। राजनीति आफैंमा अग्रगामी हुन्छ र सकारात्मक परिवर्तनको बाटो यसले सधैंभरि खुल्ला राख्छ। त्यसकारण, राजनीतिमा अहिलेको विकल्प पहिले होइन, पुरानो ठीक कदापि हुँदैन, जनआन्दोलन कहिल्यै गलत हुँदैन । #PaM

Comments

Archive

Contact Form

Send